सुनसरीको इटहरीमा सरकारले युवालाई व्यावहारिक सीप प्रदान गरी रोजगारका अवसरसँग जोड्ने उद्देश्यका साथ आजदेखि ‘सीप तथा रोजगार मेला, २०८३’ आयोजना गर्दैछ।

युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा सुरु हुन लागेको यो मेला असोज २० गतेसम्म सञ्चालन हुनेछ। मेलाको उद्घाटन प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले गर्ने कार्यक्रम तय भएको छ।

युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवको अध्यक्षतामा हुने उद्घाटन सत्रमा सांस्कृतिक झाँकीका रूपमा थारू नृत्य तथा नौमती बाजाको प्रस्तुति रहनेछ।

उद्घाटन लगत्तै युवालाई उद्यमशीलतातिर आकर्षित गर्ने लक्ष्यका साथ ‘आजको युवा, भोलिको उद्यमीः सार्क संवाद’ शीर्षकमा विशेष प्यानल छलफल सञ्चालन गरिने आयोजकले जनाएको छ।

image-207-768x432

युवाको सीप पहिचान गरी रोजगारदाता र तालिम प्रदायक संस्थासँग प्रत्यक्ष सम्पर्क स्थापित गराउने मुख्य उद्देश्यका साथ मेला आयोजना गरिएको हो।

बुधबार दिउँसो १२ देखि ५ बजेसम्म तालिमका सहभागी छनोट, प्रशिक्षार्थीको समूह विभाजन, रोजगार मिलानका लागि सीप प्रोफाइलिङ, रोजगारदाता र तालिम प्रदायकको परिचय तथा सूचना-परामर्श सेवाहरू सञ्चालन गरिनेछ।

भोलि असोज १५ देखि असोज १९ गतेसम्म १० वटा विभिन्न विषयगत क्षेत्रमा ५ दिने व्यावहारिक तालिम सञ्चालन हुने मन्त्रालयले जनाएको छ। मेला अवधिभर प्रदर्शनी स्टल, सूचना तथा परामर्श सेवा, रेफरल सुविधा, रोजगार मिलान तथा उद्यमशीलतासम्बन्धी छलफल निरन्तर जारी रहनेछन्।