अस्पतालमा विरामी लिएर आउने र विरामी कुरेर बस्ने कुरुवाहरुलाई खाना खान समस्या भएको थाहा पाए पछि विराटनगर स्थित कोशी अस्पतालमा नर सेवा नारायण सेवा परिवारले निशुल्क खाना वितरण गर्न थालेको छ ।
विराटनगरका १५ जना मारवाडी समुदायका व्यक्तिहरु मिलेर गठन गरिएको नर सेवा नारायण सेवा परिवारले सेवा हि परमो धर्म भन्ने नारा सहिते दैनिक करिब २ सय ४० जनालाई नशुल्क खाना वितरण गरिरहेको छ । अस्पताल भित्र एउटै मात्र क्यान्टीङ संचालन भएका कारण कुरुवाहरुलाई खाना खान बाहिर जानुपर्ने बाध्यता थियो ।
निशुल्क खाना वितरण गरिएपछि विरामीका कुरुवाहरुलाई खानाका लागि होटल खोज्नुपर्ने झंझट हटेको छ । नर सेवा नारायण सेवा परिवार, विराटनगरका सदस्य देवकीनन्दन अग्रवालले दैनिक एक छाक खाना खुवाउन करिब ११ हजार रुपैया खर्च लाग्ने गरेको बताए ।
गत घटस्थापना देखि शुरु गरिएको निशुल्क खाना वितरण कार्यक्रमलाई एक वर्षसम्म निरन्तरता दिने र त्यसपछि पुनः सहयोग जुटाएर खाना वितरण गर्ने सोच रहेको नर सेवा नारायण सेवा परिवारले जनाकारी लिएको छ । निशुल्क खाना पाउने भएपछि अस्पतालका विरामी कुरुवाहरुका साथै सडकमा मागि हिड्ने व्यक्तिहरु र सिटी रिक्सा चालकहरु पनि खाना खान आउने गरेका छन् ।