झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले दसैँमा रु ६९ लाख ६० हजार मूल्यको खसीबोका बिक्री गरेको छ । संस्थाबाट कृषि कर्जा लिएर व्यावसायिक बाख्रापालन गरेका झापा र इलाम जिल्लाका किसानबाट ती खसीबोका नगदै किनेर उपभोक्तालाई बिक्री गरेको संस्थाका निर्देशक लक्ष्मण खतिवडाले बताउनुभयो ।
किसानबाट किनिएका खसीबोकाको स्वास्थ्य परीक्षण गरेर मात्र बजारमा बिक्रीका लागि पठाइने गरेको उहाँको भनाइ छ । उहाँका अनुसार विगत वर्षमा पनि संस्थाले आफ्ना सदस्य किसानको खसीबोका किनेर चाडपर्वका बेला खुला बजारमा बिक्री गर्दै आएको थियो । यसपालि पहिलोपल्ट इलामबाट सङ्कलित खसीबोका काठमाडाँैसम्म लगेर बिक्री गरिएको थियो ।
संस्थाको कृषि क्षेत्रका प्रमुख डा कमलेश्वर भाटले यसपालिको दसैँमा औसत ३० केजीका चार सयवटा खसीबोका बिक्री भएको जानकारी दिनुभयो । ती खसीबोका जिउँदै तौलिएर खोरबाटै नगदमा किनिदिँदा किसान चाडका बेला लाभान्वित भएका थिए ।
झापा, इलाम, मोरङ, सुनसरी, उदयपुर र पाँचथर जिल्लामा ती खसीबोका बिक्री गरिएका थिए । खसीबोका जिउँदै तौलिएर प्रतिकेजी रु पाँच सय ८० मा बिक्री गरिएको उहाँले जानकारी दिनुभयो ।