नेकपा एमालेका नेता एवम कोशी प्रदेश अध्यक्षका प्रत्याशी विनोद ढकालले हार स्वीकार गर्दै पत्रकार सम्मेलन गरेका छन् ।

बिहिवार विराटनगर स्थित एमाले पार्टी कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरी नेता ढकालले बाहिर हल्ला भए जस्तो नेकपा एमालेमा गुट उपगुट नरहेको स्पष्ट पारेका छन् ।


 उनले एमाले कोशी प्रदेश अधिवेशनमा ओली र विद्या भण्डारी पक्षको उम्मेदवार भनेर प्रचारित गरिनु अत्यन्त लज्जास्पद कार्य भएको र यसमा केही नेताहरु लागि परेको गुनासो गरे । उनले आफुलाई हराउन केही नेताहरुले श्रोत र साधनको दुरुपयोग गरेको आरोप लगाए । उनले पार्टी स्थायी कमिटी सदस्य र पोलिटब्यूरो सदस्यहरुले नै खुलेआम आप्mनो विरुद्धमा  भोट माग्ने र उम्मेदवारलाई घेराबन्दी गर्ने काममा नियोजित रुपमा लागेका बर्ता त्यो कर्ममा पार्टी अध्यक्ष केपी शर्मा ओलीको नाम जोडेर प्रचारवाजी गनेको भन्दै आपत्ति जनाए ।


ढकालले नेताहरुको तहबाट भएको त्यस्तो व्यवहारले पार्टी अध्यक्ष ओलीलाई विवादमा पार्ने काम भएको भन्दै पार्टी अध्यक्षको नजरमा कोही कार्यकर्ता नजिक र कोही टाढाको हुन नसक्ने बताए ।उनले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिदै पार्टीलाई एक ढिक्का बनाएर लैजान कोशी प्रदेश समितिलाई आग्रह समेत गरे  ।


उनले आफ्नो पक्षमा रहेका नेता कार्यकर्ताहरुलाई विभेद र अवसरबाट बंचित गरिए त्यस विरुद्ध लागिपर्ने जानकारी दिए । विराटनगरमा हालै सम्पन्न एमाले कोशी प्रदेश अधिवेशनमा मोरङका घनश्याम खतिवडाले ५१२ मत ल्याई विजयी भएका थिए भने विनोद ढकालले ४३० मत प्राप्त गरेका थिए ।


 binod dhakal  (2)