गौरादह नगरपालिका–५ मा रहेको नमूना एकीकृत सहकारी खेती बीउ उत्पादन समूहमा आबद्ध महिलाले अचार, पापडलगायत छवटा नमूना उद्योग सञ्चालन गरेका छन् ।
सहकारीमा आबद्ध महिलाले आफू स्वरोजगार बन्ने र स्थानीय क्षेत्रमा उत्पादित सामग्रीलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने उद्देश्यले उद्योग सञ्चालन गरेको बताएका छन् । यसमध्ये आचार उद्योग भने राम्रैसँग फस्टाएको छ । आचार बिक्रीबाट मात्र महिलाले वार्षिक रु छ लाख बढी आम्दानी गर्दै आएका छन् ।
सहकारीमा आबद्ध सेयर सदस्यले उत्पादन गरेका अग्र्यानिक कृषिजन्य वस्तु कागती, आँप, गाँजर, तामा, जलपाई र चारपाटे, अकबरे खुसार्नीलगायत विभिन्न प्रकारका आचार चार वर्षअघिदेखि उत्पादन गर्दै आएको नमूना आचार उद्योगकी अध्यक्ष सकुन्तला प्याकुरेलले बताउनुभयो । उहाँले अकबरे खुर्सानी भने इलाम, पाँचथरबाट खरिद गरेर ल्याउने गरेको बताउनुभयो ।
महारानी झोडा साना किसान कृषि सहकारी र एकीकृत नमूना सहकारी खेतीमा दैनिकजसो मुलुकका विभिन्न स्थानका सङ्घसंस्थाबाट भ्रमणमा आउन थालेपछि पर्यटकलाई यस क्षेत्रको कोसेली हुने र आम्दानीको स्रोत पनि बन्ने देखेर नमूना अचार उद्योग सञ्चालन गरेको उहाँले बताउनुभयो ।
सुरुमा छजना महिला मिलेर रु १८ हजार लगानीबाट सुरु गरेको आचार उद्योगको हाल आफ्नै भवनसहित सुविधासम्पन्न ल्याब र अचार बनाउने औजारसहित रु ३५ लाख बराबरको सम्पत्ति रहेको छ । उहाँले वार्षिक आचार बिक्रीमार्फत मात्र रु छ लाख आम्दानी हुने गरेको बताउनुभयो ।