ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलामा सिमा प्रवेशपत्र वितरण गरिएको छ । टिप्ताला नाका खुल्ने भएसँगै चीनको रियू आउजाउ गर्नका लागि सीमा प्रवेशपत्र वितरण गरिएको हो । गत साता प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङको नेतृत्वमा जिल्ला प्रशासनका कर्मचारी, सुरक्षा निकायका प्रमुख र फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूको टोली ओलाचुङगोला पुगेर सीमा प्रवेशपत्र वितरण गरेको जनाइएको छ । प्रमुख जिल्ला अधिकारी चेम्जोङका अनुसार पहिलो चरणमा फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुगोला र याङ्मा क्षेत्रका बसोबास गर्ने ८८ नागरिकलाई सीमा प्रवेशपत्र उपलब्ध गराएको हो । उहाँले भन्नुभयो “टिप्तालमा नाकासम्म यातादेखि हामी पुग्र्यो । डिङ्जे काउन्टीका प्रतिनिधि पनि नाकासम्म आउनुभयो । दुई पक्ष भेटघाट भयो ।” दसैँ तिहारबीचमा टिप्ताला नाका खुल्न सक्ने जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ । डिङ्जे काउन्टी र फक्ताङलुङ गाउँपालिका, जिल्ला प्रशासन तापलेजुङका त्रिपक्ष सहमतिमा सीमादेखि ३० किलोमिटरसम्म बसोबास गर्ने नागरिकलाई पहिलोचणनमा सीमा प्रवेशपत्र उपलब्ध गएको फक्ताङलुङ गाउँपालिकाले जनाएको छ । विस्तारै प्रथमिकताका आधारमा फक्ताङलुङ गाउँपालिकामा बसोबास गर्ने नागरिकलाई समेत सीमा प्रवेशपत्र उलब्ध गराउँदै जाने गाउँपालिकाले जनाएको छ । जिल्ला प्रशासनका अनुसार प्रवेशपत्रका समय अवधी एक वर्ष हुने छ । प्रत्येक वर्ष सीमा प्रवेशपत्र जिल्ला प्रशासन कार्यालयमा नवीकरण गर्नुपर्ने हुन्छ । कोभिड–१९ कारण विगत चार वर्षदेखि टिप्ताला नाका बन्द छ । लामो समय नाका बन्द हुँदा सीमावर्ती क्षेत्रमा व्यापार ठप्प भएको छ । सीमा क्षेत्रमा बसोबास गर्ने समुदायको व्यापार ठप्प हँुदा आर्थिक सङ्कट खेप्दै आएको स्थानीय बताउँछन् । गलैँचा, जडीबुटी साथै नेपालबाट उत्पादित सामग्री चीन निर्यात बन्द हुँदा सीमा क्षेत्रमा बसोबास गर्ने समुदायको आर्थिक सङ्कटमा पर्दै गएको जनाइएको छ ।