चितवन राष्ट्रिय निकुञ्जबाट ल्याइएका दुई गैँडालाई कोसी टप्पु वन्यजन्तु आरक्षमा छाडिएको छ । पुष्पा र अञ्जली नाम गरेका ती गैँडालाई छुट्टाछुट्टै खोरमा यहाँ ल्याइएको र पथरी सेक्टर कार्यालय नजिकै छोडिएको हो ।
विश्व पर्यटन दिवस, २०२३ का अवसरमा वन तथा वतावरण मन्त्री डाक्टर विरेन्द्रप्रसाद महतोले कोसी टप्पु वन्यजन्तु आरक्षलाई पर्यटकीय रुपमा विकास गरिने बताउनुभयो । कोसी टप्पु वन्य जनतु आरक्षस्थित सप्तरीको पथरी सेक्टरमा निर्माण गरिएको वन्यजनतु उद्धार केन्द्रको आज उदघाटन तथा गैँडा हस्तान्तण कार्यक्रमका अवसरमा मन्त्री महतोले कोसी टप्पु वन्यजन्तु आरक्षलाई पर्यटकीय रुपमा विकास गर्नकालागी चितवनबाट गैँडा ल्याइएको बताउनुभयो ।
कोसी टप्पुमा प्राविधिक समितिले गरेको अध्ययनमा गैँडाका लागि बासस्थान उपयुक्त देखिएपछि गैँडा लगिएको हो । केही वर्ष अघि कोसी टप्पुबाट चितवन निकुञ्जमा १३ वटा अर्ना लगिएको थियो । तत्कालीन समयमा स्थानीयवासीले चितवनबाट गैँडा ल्याउनुपर्ने माग गरेका थिए । सोहीअनुसार विभागले प्राविधिक समिति बनाएर अध्ययन थालिएको थियो ।