विराटनगर, ९ असोज ।  

  विराटनगर भंसार कार्यालयले भाद्र महिनामा करिब ५७ प्रतिशत मात्र भंसार राजस्व संकलन गरेको छ । आर्थिक वर्ष ०८०/८१ को पहिलो महिनामा तोकिएको लक्ष्यको ८१ प्रतिशत भंसार राजस्व संकलन गरेको विराटनगर भंसार कार्यालयको भंसार राजस्व दोश्रो महिनामा घटेको हो ।  

चालू आर्थिक वर्ष ०८०/८१ को पहिला दुइ महिनामा विराटनगर भंसार कार्यालयले करिब ११ प्रतिशत भंसार राजस्व संकलन गरेको छ । विराटनगर भंसार कार्यालयलाई आर्थिक वर्ष ०८०/८१  का लागि ५४ अरब ६२ करोड २८ लाख रुपैया लक्ष्य तोकिएको छ ।

 विराटनगर भंसार कार्यालयलाई आर्थिक वर्ष ०८०/८१ को भाद्र महिनाका लागि ४ अरब ४५ करोड ६६ लाख रुपैया लक्ष्य तोकिएकोमा २ अरब ५३ करोड १९ लाख रुपैया मात्र भंसार राजस्व संकलन गरेको छ । साउन महिनामा भन्दा भाद्र महिनामा भंसार महसुल संकलन घटेको छ भने मुल्य अभिवृद्धि कर र अन्तशुल्क समेत घटेकाले भंसार राजस्व संकलन कम भएको विराटनगर भंसार कार्यालयले जनाएको छ । 

साउन महिनामा भन्दा भाद्र महिनामा लक्ष्य समेत करिब १ अरब बढी भएकाले भंसार राजस्व संकलन कम भएको सो कार्यालयले जनाएको छ । असोज महिनामा चाडबाड समेत पर्ने भएकाले भंसार राजस्व संकलन बढ्ने आशा गरिएको विराटनगर भंसार कार्यालयका प्रमुख भंसार अधिकृत ज्ञानेन्द्र ढकालले जानकारी दिनुभयो । विराटनगर भंसार कार्यालयलाई असोज महिनाका लागि ४ अरब ८४ करोड ७७ लाख रुपैया लक्ष्य तोकिएको छ । 

 bhansar (2)