विराटनगरमा संचालन गरिएको प्रहरी जवान आधारभूत तालिमको आइतवार समापन भएको छ ।
विराटनगर स्थित कोशी प्रदेश प्रहरी तालिम केन्द्रमा आयोजित प्रहरी जवान १४० औं समूहको दिक्षान्त समारोहलाई सम्बोधन गर्दै कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोलाले तालिममा आर्जन गरेको ज्ञान, कला र कौशललाई व्यवसायिक र असल प्रहरी बन्ने र जनता संग सहकार्य गरेर कानुन अनुसार आफ्नो कर्तव्य निर्वाह गर्ने कार्यमा प्रयोग गर्न निर्देशन दिए । उनले जनताले तिरेको करबाट रासन तलब खाने प्रहरीले जनताको निस्वार्थ सेवा गरी मुल्य चुकाउनु पर्ने बताए ।
सो प्रहरी जवान आधारभूत तालिममा प्रहरी संगठन, सुरक्षा, प्रहरी कार्य तथा अपराध नियन्त्रण, अपराध अनुसंधान, विद्यमान कानुन र प्रहरी युक्ति तथा कारवाही बारे प्रशिक्षण दिइएको थियो ।
सो कार्यक्रममा तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक राजन अधिकारीले शपथ गराएका थिए । सो कार्यक्रममा प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोलाले उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार प्रदान गरेका थिए ।
सो तालिममा १४० औं समूहका ५३ जना महिला र २ सय ४२ जना पुरुष गरी २ सय ९५ जनाले तालिम सम्पन्न गरी प्रहरी सेवामा प्रवेश गरेका छन् । २ सय ३४ कार्यदिन रहेको सो तालिम गत २०७९ असोज २० गते देखि संचालन गरिएको थियो ।