कोशी प्रदेशका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई कोशी प्रदेश सरकारले करिब ४७ लाख रुपैया बराबरको विपद् प्रतिकार्यका सामग्रीहरु उपलब्ध गराएको छ ।
विराटनगर स्थित आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आयोजना गरिएको एक कार्यक्रम बीच बिहिवार आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोला र सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी पकलीका सशस्त्र प्रहरी नायब महानिरीक्षक अंजनी कुमार पोखरेललाई सामान हस्तान्तरण गरे ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री हिक्मत कुमार कार्कीले शान्ति सुरक्षा संगै विपद् व्यवस्थापनलाई पनि प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिए । उनले नेपाल प्रहरी र सशस्त्र प्रहरी संघिय सरकार अन्र्तर्गतको इकाई भएपनि प्रदेश सरकारले कोशी प्रदेशका सुरक्षाकर्मीहरुलाई साधनस्रोत सम्पन्न बनाउन सहयोग जारी राख्ने बताए । उनले एक्काइसौं शताब्दीमा राष्ट्रिय पहिचान र प्रदेशको पहिचानलाई भुल्दै गएर जाति, धर्म र लैंगिक पहिचानको कुरा उठाउन उपयुक्त नभएको बताए ।
प्रदेश सरकारले उपलब्ध गराएको विपद् प्रतिकार्यमा प्रयोग हुने सामग्रीहरुमा फायर बल, फायर एक्सटिन्गुईसर, फायर ब्लांकेट, क्ल्याईम्बिङ ग्लोब्स, फायर स्वाटर, चेन स, स्वीमर सुज, ड्रोन लगायतका सामग्रीहरु रहेका छन ।