एचपिभी खोप अभिमुखिकरण÷ विराटनगर
विराटनगर, २४ भाद्र ।
पाठेघरको मुखमा हुने क्यान्सर रोकथाम तथा नियन्त्रणका लागि १४ वर्ष उमेर पुगेका बालिकाहरुलाई परिक्षणको रुपमा कोशी प्रदेशका करिब २ हजार बालिकाहरुलाई एचपिभी खोप लगाइने भएको छ ।
विराटनगरमा आयोजित एचपिभी खोप बारे अभिमुखिकरण कार्यक्रममा पाठेघरको मुखमा हुने क्यान्सरको प्रभाव, खोपको उद्देश्य, खोप संचालनको तरिका बारे जानकारी दिइएको थियो । महिलाहरुमा लाग्ने क्यान्सर मध्ये सबैभन्दा बढी पाठेघरको मुखमा हुने क्यान्सर रहेकाले एचपिभी खोप लगाउन लागिएको जानकारी दिइएको छ । अत्यन्त महंगो र पर्याप्त मात्रामा नपाइने एचपिभी खोप नेपाललाई करिब २० हजार डोज प्राप्त भएको र कोशी प्रदेशको भागमा करिब ४ हजार ५० डोज परेकाले करिब २ हजार बालिकाहरुलाई मात्र खोप लगाउन लागिएको बताइएको छ । यो खोप कोशी प्रदेशको विराटनगर स्थित कोशी अस्पतालमा मात्र लगाइनेछ ।
सरकारले सन् २०३० सम्ममा पाठेघरको मुखको क्यान्सर मुक्त गराउने लक्ष्य लिएको छ । यस वर्ष परिक्षणको रुपमा शुरु गरिएको एचपिभी खोप आगामी वर्ष १० वर्ष देखि १४ वर्ष सम्मका सबै बालिकाहरुलाई लगाउने लक्ष्य राखिएको छ । क्यान्सरको समयमा उपचार गरिए सजिलै निदान हुन सक्ने भएपनि पाठेघरको मुखको क्यान्सर बारे सजिलै जानकारी नपाइने भएकाले यसको जोखिम बढी रहेको छ ।