नेपाली कांग्रेस कोशी प्रदेशका सांसद खगेनसिङ हाङगामले ताप्लेजुङका प्रहरी प्रमुख राजन लिम्बूलाई ज्यान मार्ने धम्की दिएका छन् ।

शुक्रबार ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा पार्टी कार्यकर्तामाझ उनले डीएसपी लिम्बू र उनको परिवारको ज्यान मार्ने धम्की दिएका हुन् ।‘अबको कुनै बेला पनि सरकार नेपाली कांग्रेसको नेतृत्वमा भयो भने कहाँ बस्छस्, कस्तो लुगा लगाउँछस्, के खान्छस्, तेरो बाउआमा कहाँ छन्, तेरो छोराछोरी कहाँ छन्, त्यो पनि पत्ता लगाएर हामी मार्छौं’, हाङगामले डीएसपी राजन लिम्बूलाई धम्की दिए ।

सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा हाङगामले भनेका छन्, ‘सक्छस् भने यहीँ आइज, म लुगा खोल्न तयार छु, खेल्न सक्छस् भने आइज, तेरो पेस्तोल लिएर आउँछस् कि बर्दी खोलेर आउँछस्, तलाई म तीन सेकेण्ड पनि राख्दिन बाँकी ।’ राजनीति उखरमाउलो किसिमले तातिएको बेला आफूहरु मान्छे मार्न पनि नडराउने उनको धम्की थियो ।