सुनसरीमा विशेष अप्रेसनमा खटिएका दुईजना प्रहरीलाई अज्ञात समूहले आक्रमण गरि हतियार लुटेका छन् । हिजो राती १२ बजे आक्रमण गरी हतियार लुटिएका हुन् । बर्जु गाउँपालिका १ शुक्रबारेमा डियुटिमा रहेका सादा पोसाकमा रहेका प्रहरीलाई अज्ञात समुहले आक्रमण गरि हतियार लुटेका हुन् ।
सुनसरीको सीमावर्ती क्षेत्रमा लुटपाट गर्ने समूह सक्रिय रहेको सूचनाका आधारमा त्यस सम्बन्धित अप्रेसनका लागि इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएका प्रहरी जवान बिमन परियार र प्रेम चौधरीमाथि आक्रमण भएको हो।
सादा पोसाकमा खटाइएका परियार र चौधरी पुग्नासाथ अन्दाजी चार जनाको संख्यामा रहेको समूहले आक्रमण गरेको हतियार लुटेको जिल्ला प्रहरी कार्यालय सुनसरीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक रोमन अर्यालले जानकारी दिए ।
‘हाम्रो साधा पोशकका प्रहरी त्यो क्षेत्रमा हतियार देखाएर लुटपाट हुन्छ भन्ने सुचना आएपछि डियुटीमा खटिनुभएको थियो, डियुटिमा खटिएका प्रहरी माथी आक्रमण भएको छ,त्यस क्रममा दुई पक्षबीच केहीबेर घम्साघम्सीसमेत भयो,’ उनले भने, ‘आक्रमणकारीको समूह ठूलो थियो । प्रहरी दुई जना मात्रै भएकाले त्यो समूहसँग भिड्नसक्ने अवस्था भएन ।’
आक्रमणबाट प्रहरी जवान परियारको टाउकोमा चोट लागेको छ । केही शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भएको समेत उनले बताए ।




















