विराटनगर, २१ भाद्र । 

विराटनगरमा आयोजना गरिएको सिटीनेट नेपाल च्याप्टरको वार्षिक साधारण सभा एवम अधिवेशनले विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति पनि निर्वाचित गरेको छ ।

 विहिवार स्थानीय तह बीच परस्पर सहयोग, शहरी व्यवस्थापनको व्यवहारिक अनुभव आदानप्रदान तथा सिकाईको आधारमा आपसी सम्बन्ध अभिवृद्धि गर्न स्थापना गरिएको सिटीनेट नेपाल च्याप्टरले विधान पारित समेत गरेको छ । सिटी नेटको उपाध्यक्षमा बुटवल उपमहानगरपालिका, महासचिवमा तानसेन नगरपालिका, कोषाध्यक्ष भीमदत्त नगरपालिका चयन भएका छन । सदस्यहरूमा पोखरा, भरतपुर, ललितपुर महानगरपालिकासहित जितपुर सिमरा, हेटौँडा उपमहानगरपालिका र वीरेन्द्रनगर नगरपालिका छन । संस्थागत सदस्यहरूमा भूकम्प प्रविधि समाज नेपाल र अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक सदस्य छन ।

   सो अधिवेशनले पालिकाहरुको प्रविधियुक्त, सुरक्षित तथा प्रभावकारी शहरी विकास प्रणालीको प्रवद्र्धन, फोहोर मैलाको व्यवस्थापन र दिगो विकास लक्ष्य २०३० बारे छलफल गरी सहकार्य गर्ने निर्र्णय गरेको छ । अधिवेशनले गरेका निणर्य बारे जानकारी दिदै सिटीनेट नेपाल च्याप्टरकी अध्यक्ष एवम हेटौडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाले नगरपालिकाहरु बीचको सम्बन्धलाई सुदृढ बनाउदै दिगो तथा सुरक्षित शहरहरु विकास गर्ने प्रतिबद्धता गरेको जानकारी दिइन् । उनले १६ वटा नगरपालिकाका मेयर तथा उपमेयरहरू सहभागी अधिवेशनले विधान पारित गरेको बताइन ।

नेपालका एक लाख बढी जनसंख्या भएको २१ वटा नगरपालिकाहरु सदस्य रहेको सिटीनेट नेपाल च्याप्टरमा २१ वटा नयाँ नगरपालिकाहरुलाई विस्तारित सदस्यका रुपमा थपिएको जानकारी दिइएको थियो । जनसङ्ख्या वृद्धिको नकारात्मक असरलाई मध्यनजर गरी एसिया तथा प्रशान्त क्षेत्रका सहरी विकास सम्बन्धी संस्थाहरूको सञ्जालको नेतृत्व गर्न सन् १९८७ मा सिटिनेट नामक अन्तर्राष्ट्रिय संस्थाको स्थापना भएको हो ।