विराटनगर, १९ भाद्र ।
जिल्ला अदालत मोरङमा गत आर्थिक वर्ष २०७९ र ८० मा ६ हजार ५ वटा नयाँ मुद्दा दर्ता भएको र अघिल्ला आर्थिक बर्षहरुबाट जिम्मेबारी सरेर आएको ३ हजार ३ सय ९१ वटा मुद्दा गरी ९ हजार ३ सय ९६ वटा मुद्दा रहेकोमा ५ हजार ७ सय ६३ वटा मुद्दा फछ्र्यौट गरिएको सो अदालतले जनाएको छ ।
मोरङ जिल्ला अदालतले गत आर्थिक वर्षमा २ वर्ष नाघेका मुद्दाहरुलाई एक अंकमा ल्याउने गरी फैसला कार्यान्वयन कार्ययोजना तयार गरेको भएपनि २ वर्षनाघेका १४ वटा मुद्दाहरु फछ्र्यौट हुन बाकी रहेको जनाएको छ । सो अदालतले गत वर्ष करिब ६१ प्रतिशत मात्र मुद्दा फैसला गरेको जनाएको छ ।
सो अदालतमा गत वर्ष ९५ वटा दुई वर्षनाघेका मुद्दाहरु रहेकोमा विविध कारणले फछ्र्यौट हुन नसकेको र चालू आर्थिक वर्षमा यसलाई शुन्यमा झार्ने गरी कार्ययोजना बनाइएकोे जिल्ला अदालतका सूचना अधिकारी ओमराज सुवेदीले जानकारी दिए ।
मोरङ जिल्ला अदालतमा १२ जना जिल्ला न्यायाधिसको दरबन्दी भएपनि आवश्यक पूर्वाधारको अभावमा १० जना मात्र न्यायाधिसहरु कार्यरत रहेका छन् । इजलास अभावमा दुई जना न्यायाधिसलाई अन्यत्र काज सरुवा गरिएको छ ।
जिल्ला अदालत मोरङमा न्यायाधीशको संख्यालाई आधार मान्दा प्रति न्यायाधीश मुद्दा संख्या ९३९ दशमलव ६ वटा परेका छन् । जसमध्ये प्रति न्यायाधीस फछ्र्यौट दर भने ५७५ दशमलव २ वटा मुद्दा हुन जाने जनाइएको छ ।