पाँचथरको मालबाँसे बस्ती पहिरोको जोखिममा परेको छ।यहाँको नाखेडाँडा, स्याल्जेलगायत ठाउँमा पहिरो जान थालेको छ । बस्तीसम्मै स–सानो पहिरो जानुका साथै ठूलो क्षेत्रमा धाँजा फाटेको छ । यस वर्ष अत्यधिक वर्षा र बाढीका कारण जमिनको ठूलो क्षेत्रमा धाँजा फाटेको हो । जमिनमा धाँजा फाटिएपछि स्थानीयवासीका घर तथा भौतिक संरचना, बाटो र गोरेटो लच्किएका छन् भने पहिराले अलैँची र अम्रिसो बगानमा क्षति पुर्याउन थालेको छ ।
विगतमा स–सानो पहिरो झर्ने गरेको भए पनि यस वर्ष सुरु भएको पहिरोले बस्तीलाई जोखिममा पारेको छ । । यस वर्ष अत्यधिक वर्षा भएका कारण जमिनले पानी थेग्न नसकेर पहिरोको जोखिम बढेको स्थानियको भनाई छ । मालबाँसेबाट बगेर जाने पानी ढुङ्गे खोल्सी वा पाहाङ्गवीरे पाङ्ग्रे खोल्सीबाट निकास गर्न सके पहिराको जोखिम केही कम हुने स्थानियहरुको भनाइ छ ।
हिलिहाङ–५ का वडाध्यक्ष बिर्खबहादुर सुहाङका अनुसार सुभाङ खोलाबाट अलैँचे हुँदै विगतमा पहिरो झर्ने गरे पनि यस वर्ष बस्ती नै प्रभावित हुन लागेको हो । विशेषतः ढल निकासी नहुँदा पहिराको जोखिम बढेकाले मालबाँसे बस्ती हुँदै बग्ने पानी कटाउन यस वर्ष रु दुई लाख बजेट ब्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । “जोखिम बढेकाले चाँडै ढल निकासीका लागि काम सुरु गराउँछौं”, उहाँले भन्नुभयो ।