विराटनगर, १० भाद्र ।
विराटनगरमा नेकपा एमाले अध्यक्षले कोशी प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै जातिय र धार्मिक सद्भाव भड्काउने कार्य कुनै पनि हालतमा मान्य नहुने बताएका छन् । उनले नेपालीहरुलाई पहिचान र धर्मका आधारमा लडाउने प्रयास भईरहेकाले सचेत र सजग हुन आग्रह समेत गरे ।
अध्यक्ष ओलीले सबै धर्म, परम्परा, चाडवाड र संस्कृतिलाई सम्मान गर्नुपर्ने बताउदै मिलेर बसेका नेपालीहरुलाई फुटाउने प्रयासलाई निस्तेज पारिने बताए । उनले गरीबी पछौटेपन, भ्रष्टाचार र अनियमितता विरुद्ध भने नेपालीहरु मिलेर लड्नुपर्ने आवश्यकता रहेको धारणा राखे ।
अध्यक्ष ओलीले गठबन्धनको ध्यान सत्ता कब्जा गर्ने र एमालेलाई कमजोर बनाउनेतिर मात्रै रहेको बताउदै कोशी प्रदेशमा मुख्यमन्त्रीले लिएको विश्वास मतको प्रसंग निकाल्दै समय गुज्रिएपछि दिँदै नदिएको मत सच्याउने भनेर सभाध्यक्षलाई मतदान गराई तमासा देखाएको बताए ।
सो बैठकमा कोशी प्रदेशका १४ जिल्लाका अगुवा नेता कार्यकर्ताहरु सहितको सहभागिता रहेको एमाले कोशी प्रदेश कमिटीले जनाएको छ ।