धरानमा तय भएको कार्यक्रम स्थानीय प्रशासनले २४ घण्टे निषेधाज्ञा जारी गरेसँगै इटहरीमा भेला भएका प्रदर्शनकारीहरू सङ्गठित भएर र्‍यालीसहित धरानतर्फ गएकोमा वडा नं. २० को तरहराको पानीपियामै प्रहरीले रोकियो ।

र्‍यालीमा सहभागीले ‘गौ हत्या गर्न पाइँदैन, धर्म परिवर्तन गर्न पाइँदैन, गौ हत्या गर्नेलाई कारबाही गर, गृहमन्त्री राजीनामा दे’ जस्ता नाराबाजी गरे। र्‍याली तरहराको पानीपियाबाट प्रहरीले अघि बढ्न नदिएपछि हिन्दुवादी धार्मिक अगुवाले सम्बोधन गरेर कार्यक्रम टुङ्ग्याए। 

सो क्रममा जगतगुरु बालसन्त मोहनशरण देवचार्यले गौ हत्या गर्नेको पक्षपोषण सरकारले गर्नु अत्यन्त अमानवीय तथा कुर कार्य भएको जिकिर गरे।

धरानमा सद्भाव खल्बलिने भन्दै हिन्दुवादी धार्मिक संघसंस्थाहरूले तय गरेको कार्यक्रम तत्काल नगर्न सुनसरी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको संयोजकत्वमा शुक्रबार बसेको सर्वपक्षीय छलफलले अपिल गरेको थियो।

जिल्ला प्रशासन कार्यालयले शुक्रबार राति १२ बजेदेखि आइतबार राति १२ बजेसम्म अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरेबाहेक सामूहिक रुपमा धार्मिक, राजनीतिक, सभा, र्‍याली–भेला लगायतका कार्यक्रम नगर्न/नगराउन निषेधाज्ञा जारी गरेसँगै धरान प्रवेश गर्ने सबै नाकामा ठुलो संख्यामा प्रहरी परिचालन गरेको हो। जसमा सबैभन्दा ठुलो संख्यामा पहिलो घेरामा जनपथ र दोस्रो घेरामा सशस्त्र प्रहरी इटहरी वडा नं. २० तरहराको पानीपियामा परिचालन गरिएको जानकारी दिइयो।