इटहरी । टोल विकास लघुउद्यम सहकारी संस्था लिमिटेडको १३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार इटहरीमा संस्थाका निवर्तमान अध्यक्ष राजेन्द्र केसरी घिमिरेको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो ।
हाल सेयर पुँजी २ करोड ७१ लाख ५६ हजार ५ सय रूपैयाँ रहेको संस्थाले यस वर्ष करबाहेक १२ लाख रूपैयाँ आम्दानी गरेको साधारणसभा जानकारी गराइएको छ । त्यस्तै सहकारीले गत जेठ १ गते देखि टोल विकास लघुउद्यम प्याकेजिङ उद्योग सञ्चालन गरेर "ग्रिन टि, सिटिसि तथा ब्ल्याक टि" तयार गरेको र यहि भदौ महिनाबाटै कोसेलि घर उद्घाटन गरेर बिक्रिवितरण समेत सुरू गर्ने तयारीमा रहेको निवर्तमान अध्यक्ष घिमिरेले जानकारी दिए। साथै सयर सदस्यका उत्पादनलाई समेत संस्थासँग जोड्ने उनले बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि इटहरी उपमहानगरपालिका सहकारी शाखा प्रमुख बालकुमार पोखरेलले सहकारी संस्थाका सञ्चालक समिति इमान्दार बने संस्थाले उन्नति गर्दै जाने बताए । वर्तमान अवस्थामा सहकारी संस्थाहरु डुब्नुका मुख्यकारण सञ्चालक समितिको लापरबाही रहेको बताए । साथै वचतकर्ताले चलाएको रकम समयमा भुक्तान नहुनु पनि अहिलेको चुनौति रहेको उनको भनाई थियो ।
साधारणसभाको अवसरमा संस्थाले ८ जना जेष्ठ सेयरसदस्य, १ जना बाल वचतकर्ता, ४ जना उत्कृष्ट विद्यार्थीलगायत गरि विभिन्न शिर्षकमा २२ जनालाई सम्मान गरेको छ । वि.स. २०६७ साल पौष २६ गते १ सय ४९ जना सेयर सदस्यबाट स्थापना भएको संस्थामा हाल १ हजार ८८ जना सेयरसदस्य रहेका छन् ।