इटहरी । दमकको बेलडाँगीमा रहेको भुटानी शरणार्थी शिविर र पथरी शनिश्चरेमा रहेको शरणार्थी शिविरमा स्वास्थ्य चौकी शिलान्यास गरिएको छ । इन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाकाे लगानी तथा दमक नगरपालिका र पथरी शनिश्चरे नगरपालिकाको समन्वयनमा बन्न लागेकाे स्वास्थ्य चौकीकाे बिहीबार फाउण्डेसनका संस्थापक अध्यक्ष दिल्ली अधिकारीले जमिन खनेर शिलान्यास गरेका हुन् ।
यी २ शिविरमा अझै करिब ६ हजारको हाराहारीमा भुटानी शरणार्थी छन्, जस्को स्वास्थ्य अवस्थालाई ख्याल गर्दै इन्ट्रा फाउण्डेसनले करिव ३० लाखको लागतमा स्वास्थ्य चौकी निर्माण गर्न लागेको हो । शिलान्यास गरिएको उक्त स्वस्थ्य चौकीबाट शरणार्थी शिविर भन्दा बाहिरका गाउँ बासिले पनि स्वास्थ्य सुविधा लिन सक्ने बताइएको छ ।
शिलान्यासअघि आयाेजना गरिएको कार्यक्रममा बाेल्दै अध्यक्ष अधिकारीले आफूहरू जहाँ भएपनि नेपाली भाषा, कला र संस्कृतिबाट पृथक नरहेकाे र आफ्नो पूर्खा भुटान जानअघि नेपाली नै भएकाले आफूहरू नेपालीकै सन्तान भएकाे बताए । उनले आफूहरू नेपाल र नेपालीको सेवा गर्न इच्छुक रहेकाे तर विभिन्न कानुनी व्यवधानका कारण कठिनाइमा पर्ने गरेकाे दुखेसो गरे । नेपाल र नेपाल बाहिर बसेका नेपालीभाषीहरूलाई राजनैतिक बाहेकका नागरिकको अधिकार प्रदान गर्न सरकारसँग अधिकारीकाे आग्रह थियाे ।
दुवै शिविरका स्वास्थ्य चाैकीमा एम्बुलेन्सकाे समेत व्यवस्था गरिनेछ । एम्बुलेन्स "भ्वाइस अफ नेपाल सिजन थ्री"का बिजेता किरण गजमेर र इन्ट्राकाे सहकार्यमा शिविरलाई प्रदान गर्न लागिएकाे फाउण्डेसनले जनाएको छ । शिलान्यास कार्यक्रममा फाउण्डेसनका संस्थापक अध्यक्ष दिल्ली अधिकारी, नेपाल च्याप्टर अध्यक्ष तथा अभिनेता दिलिप रायमाझी दमक नगरपालिकाका प्रमुख राम कुमार थापा, फाउण्डेसनका प्रवन्ध निर्देशक रुद्र बानियाँ, भ्वाइस अफ नेपाल बिजेता किरण गजमेर, कलाकार शंकर बिसि, गायक डम्बर नेपाली, पथरी शनिश्चरे नगरपालिका नगर प्रमुख मोहनप्रसाद तुम्वापो, उपप्रमुख देवीमाया काफ्ले लगायतको उपस्थिति रहेको थियो ।