विराटनगर ३२ साउन

     अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले विराटनगरमा विहिवार पत्रकार सम्मेलन गर्दै राज्यका निकायले जिम्मेवारी बहन नगर्दा संखुवासभा खाँदबारी कारागारका दुई कैदीबन्दीको हत्या भएको निष्कर्ष निकालेको छ ।

सखुंवासभाकै मादी नगरपालिका ५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोट जिल्ला, ककनी गाउँपालिका ७ का स्थायी घर भइ हाल खाँदबारी नगरपालिका ९ तुम्लिङटारमा बस्दै आएका विकास श्रेष्ठ भनिने २८ वर्षका आकाश बलामीको ०८० साउन २४ गते जिल्ला कारागारका सुरक्षाकर्मीको निर्मम यातनाका कारण मृत्यु भएको प्रशस्त आधार इन्सेकको स्थलगत अनुगमनका क्रममा देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । ईन्सेक कोशी प्रदेशका प्रमुख सोमराज थापा नेतृत्वमा बनेको ४ सदस्यीय स्थलगत अध्ययन टोलीले यस्तो निष्कर्ष निकालेर पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।

कैदी भाग्न खोजेको आरोपमा चरम यातना दिनु, कैदीबन्दीको प्रशासनलाई बुझाउन, तत्काल उपचारका लागि अस्पताल नलैजानु, अन्तिम अवस्थामा अस्पताल लैजानु, पीडित परिवारलाई समयमा जानकारी नगराउनु जस्ता कार्यले राज्यका निकायले उपयुक्त जिम्मेवारी वहन नगरेको इन्सेकको जनाएको छ ।

 साउन २६ गतेदेखि साउन २८ गतेसम्म इन्सेकले जिल्लामा घटनासँग जोडिएका सबै पक्षसँग भेटघाट गरी लिएको जानकारी तथा विवरणले पहिलो चरणमा कारागारभित्रका सुरक्षाकर्मी र दोस्रो चरणमा कैदीबन्दीको प्रशासनभित्रका नाइके, भाइ नाइकेले दुवै जना कैदीलाई चरम यातना दिएका कारण मृत्यु भएको प्रशस्त आधारहरू अनुगमनका क्रममा पाइएको बताएको छ । 

राज्यको नियन्त्रणमा रहेका र राज्यको सुरक्षा गृहभित्र कैदीको कुटपिट गरी हत्या गरिनु गम्भीर मानव अधिकार उल्लङ्घन भएको इन्सेकले पत्रकार सम्मेलनमा बताएको छ ।  

ईन्सेकले घटनामा संलग्न रहेका सुरक्षाकर्मीलाई तत्कालै अनुसन्धानको प्रक्रिया ल्याउनु पर्ने, पीडित परिवारलाई उचित क्षतिपूर्ति प्रदान गर्नु पर्ने लगायतका ८ वटा सुझाव दिएको छ ।