कोशी प्रदेश सरकारले प्रदेश सभा जेष्ठ सदस्य गयानन्द मण्डललाई राज्यमन्त्री बनाएर पुनः सरकार विस्तार गरेर ६ सदस्यीय मन्त्रीमण्डल गठन गरिएको छ ।
बुधवार विराटनगर स्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजना गरिएको एक कार्यक्रममा मुख्यमन्त्री उद्धव थापाले राज्य मन्त्री मण्डललाई पद तथा गोपनियताको शपथग्रहण गराएका छन् । प्रदेश सभाका जेष्ठ सदस्य गयानन्द मण्डललाई उद्योग, कृषि तथा सहकारी राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।
कोशी प्रदेशको प्रदेश सभाको अंकगणितका कारण प्रदेश सभा बैठकको अध्यक्षता गर्ने विषयले महत्व राख्ने भएपछि जेष्ठ सदस्य गयानन्द मण्डललाई चलाखीपुर्ण तरिकाले राज्यमन्त्री नियुक्त गरिएको छ । केही दिन अघि मात्र सभामुखले पदबाट राजिनामा दिएर आर्थिक मामिला तथा योजनामन्त्री बनेका छन् । प्रदेश सभाको बैठकमा उपसभामुख अनुपस्थित भएमा अब एमालेका प्रदेश सभा सदस्यले जेष्ठ सदस्यको हैसियतले सभाध्यक्षको भूमिका निर्वाह गर्नुपर्ने हुन्छ ।
शपथग्रहण कार्यक्रममा प्रदेश प्रमुख परशुराम खापुङ, उच्च अदालत विराटनगरका कायम मुकायम मुख्य न्यायाधिस सत्यमोहन जोशी थारु सहित मंत्रीहरु, प्रदेश सांसद, कोशी प्रदेशका उच्चपदस्थ कर्मचारीहरुको उपस्थिति रहेको थियो । कोशी प्रदेशमा सत्तारुढ गठबन्धन दल संग ४७ जना र विपक्षमा ४६ जना प्रदेश सांसदहरु रहेका छन् ।
दोश्रो पटक साउन १७ गते उद्धव थापा नेतृत्वको सरकार गठन भएको हो यो सरकारले विश्वासको मत लिने समय अव दुईसाता रहेको छ ।