विराटनगर, २७ साउन ।
आदिवासी जनजातिको मुद्दा र पहिचानका सवाललाई संचारमाध्यमबाट अभिव्यक्त गर्ने ७ जना पत्रकार र एउटा संचारमाध्यमलाई नगद सहित सम्मानित गरिएको छ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको २४ औं स्थापना दिवसको उपलक्ष्यमा विराटनगरमा आयोजित कार्यक्रममा दिलिप थापामगर र नेपाल भाषा टाइम्सलाई नगद सहित सम्मानित गरिएको छ । यसैगरी किसन र्राईलाई मरणोपरान्त र देव पचभैया मगर, जीवन लामा र उन्नति चौधरीलाई आदिवासी जनजाति पुरस्कारबाट पुरस्कृत गरिएको छ । कोशी प्रदेशका विदुर खवास र सुजाता लिम्बुलाई पहिचान पत्रकारिता पुरस्कार बाट सम्मानित गरिएको छ ।
संघिय मामिला तथा सामान्य प्रशासन मंत्री अमनलाल मोदी, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष गजुरधन र्राई लगायतले सम्मानित र पुरस्कृत पत्रकारहरुलाई सम्मान पत्र र नगद वितरण गर्नुभयो ।
सो कार्यक्रममा संघिय मामिला तथा सामान्य प्रशासन मंत्री अमनलाल मोदीले पहिचानको मुद्दा अहिले पनि जीवित रहेकाले विभेद र उत्पिडनमा परेकाहरुलाई समावेशिताका आधारमा सहभागिता गराउनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले दुई तिहाईको संख्या पुगेपछि कोशी प्रदेशको पहिचानका आधारमा पुनः नामाकरण गरिने बताउनु भयो ।
सो कार्यक्रममा सहभागिहरुले नेपाल पत्रकार महासंघले गरिरहेको शुद्धिकरण अभियानमा आदिवासी जनजातिहरुलाई विभेद गर्दै सदस्यता काटिएको गुनासो गरेका थिए ।