सङ्खुवासभा जिल्ला कारागारमा हिजो दुई कैदीको मृत्यु भएको घटनामा उनीहरुका परिवारजनले शव बुझ्न मानेका छैनन् । प्रहरीको कुटाइबाट कैदीबन्दीको मृत्यु भएको आरोप लगाउँदै आफन्तले शव बुझ्न नमानेका हुन् ।
कारागारमा रहेका १९ वर्षीय विनोद तोलाङ्गी र २८ वर्षीय आकाश बलामीको बुधबार बिहान मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले कैदीबन्दीको उपचारका क्रममा मृत्यु भएको बताउनुभयो ।
कारागारबाट भाग्नकालागि शौचालयको झ्यालको रड काटेर निस्किने क्रममा उनीहरुलाई नियन्त्रणमा लिएर कारागार प्रशासनको जिम्मा लगाएको उहाँको भनाइ छ । कारागारका अन्य कैदीबन्दी र स्थानीय प्रत्यक्षदर्शीले भने प्रहरीले दुवैजनालाई कुटपिट गरेको बताउँदै आएका छन् ।
प्रहरीविरुद्ध कारागारभित्रका कैदीबन्दीले नाराबाजी र प्रदर्शनसमेत गरेका छन् । दोषी प्रहरीमाथि कारबाही हुनुपर्ने कैदीबन्दीको माग छ । कैदीको मृत्यु पछि कारागारको अन्तरिक सुरक्षालाई ध्यानमा राख्दै नाइकेसहितका नौ बन्दीलाई जिल्ला प्रहरीमा लगिएको कारागारका जेलर राजेन्द्र घिमिरेले बताउनुभयो । जिल्ला अदालतले जबर्जस्ती करणी मुद्दामा तोलाङ्गीलाई १८ वर्ष तथा चोरी मुद्दामा बलामीलाई तीन वर्ष कैद सजायको फैसला गरेको थियो । दुवैजना एक वर्षदेखि यहाँको कारागारमा थिए ।