मोरङको धनपालथान गाउँपालिका–६ कदमाहको एउटा गोठमा सोमबार बिहान आगलागी भएको छ । आगोले जलेर सुकदेव मण्डलको कर्कट पाताको छानो भएको र बाँसको टाटीको बेरा भएको एक तले गोठ पूर्ण रूपमा नस्ट भएको छ ।
गोठमा बाँधिराखेका खसीबाख्रा जलेर मरेका छन् । बिहानको राति ३ ३० बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मण्डलले गोठमा पालेका तीनवटा खसी, दुईवटा बाख्रा र दुईवटा पाठापाठी आगोले जलेर मरेका छन् । प्रहरी र स्थानीय बासिन्दाको संयुक्त प्रयासले एक घण्टापछि आगो नियन्त्रणमा आएको थियो ।
आगलागीको कारण अहिलेसम्म खुलेको छैन । आगोले टाटीको बेरा भएको एक तले गोठ,गोठभित्र रहेका खसीबाख्रा,दाउरा र काठ जल्दा दुई लाख २० हजार मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । मानवीय क्षति भने भएको छैन । प्रहरीले घटनाको थप अनुसन्धान सुरु गरेको छ ।