कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशलाई स्थिर सरकार दिनका लागि सबै दल मिल्नुपर्नेमा जोड दिनुभएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा ताप्लेजुङको फुङलिङ नगरपालिकालाई दमकल तथा पिकअप भ्यान हस्तान्तरण गर्ने आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।
उहाँले प्रदेशमा विपद् जोखिम कम गर्न अझै काम गर्न बाँकी रहेको बताउनुभयो । उहाँले प्रदेश सरकारका तर्फबाट स्थानीय तहलाई साधन स्रोत सम्पन्न बनाउन सहयोग निरन्तर हुने पनि बताउनुभयो । अहिलेको अवस्थामा डेंगुको सङ्क्रमण बढेसँगै आएको विपद्को लागि विभिन्न स्थानमा यसअघि सञ्चालनमा आएका कोभिड अस्पतालमार्फत सेवा दिने तयारी थालिएको उहााको भनाइ छ ।
मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र सञ्चालनको लागि फुङलिङ नगरपालिकालाई दमकल र पिकअप हस्तान्तरण गरिएको हो । मन्त्रालयका सचिव सुरेश राउतले अत्यावश्यक केन्द्रले १४ वटै जिल्लामा सेवा प्रदान गर्ने सरकारको योजनाअनुरुप सहयोगका कार्य अघि बढाइरहेको जानकारी दिनुभयो । कार्यक्रममा नगरपालिकाका मेयर अम्मिर मादेन र उपमेयर हिमादेवी ओझाले चाबी बुझेका छन् । हालसम्म १६ ठाउँमा दमकल वितरण गरिएको छ । फुङलिङलाई हस्तान्तरण गरिएको दमक ७३ लाख ७५ हजार र पिकअप ३७ लाखमा खरिद गरिएको हो ।