विराटनगर, ३ साउन ।
मोरङको कटहरी गाँउपालिकाले सिघिया खोला किनारामा लाग्दै आएको हाटबजारलाई व्यवस्थित गरेर सारेपछि वुधहाटका व्यापारीहरुले विरोध गरेका छन् ।
कटहरी वडा नं. १ सिंघिया खोलामा लाग्दै आएको हाट कटहरी गाँउपालिका वडा नंं. १ कै फलफूल तथा तरकारी थोक बजारमा सारिएको छ । सो तरकारी वजारमा टाडा हुने र व्यापार नहुने भन्दै व्यापारीहरुले विरोध गरेका छन् ।
बुधवार हाट बजार र्सार्न खोज्दा स्थानीयले अवरोध गरेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीहरु खटाइएको थियो । विरोध गर्ने क्रममा ६ जनालाई प्रहरीले पक्राउ समेत गरेको छ । उनिहरुले गाँउपालिकाले ब्यापारीहरु संग छलफलनै नगरी बजार सारेको भन्दै विरोध गरेका हुन ।
करिब १७ करोड ऋण सहयोगमा नेपाल सरकारले निर्माण गरेको फलफूल तथा तरकारी थोक बजार प्रदेश सरकारले कटहरी गाँउपालिकालाई संरक्षणका लागि हस्तान्तरण गरेको र स्थायी संरचना समेत रहेको मात्र होइन पुरानो हाट हुलाकी राजमार्ग छेउमा रहेकाले दुर्घटना हुन सक्ने भएकाले हाट बजार सारिएको कटहरी गाँउपालिकाका अध्यक्ष देवराज चौधरीले जानकारी दिए । उनले बजार व्यावस्थापन गर्न खोज्दा नबुझेर व्यापारी हरुले विरोध गरेको बताए ।
करिब ५ बिगहा जग्गामा रहेको स्थायी संरचनामा हाट बजार सार्दा पालिकाले जग्गा धनीलाई दिनुपर्ने २५ प्रतिशत भाडा समेत तिर्नु नपर्ने भएको छ । बद्री कोइरालाको जग्गामा रहेको पुरानो हाट लाग्ने ठाँउको भाडा कटहरी गाँउपालिकाले वाषिर्क करिब ५ लाख रुपैया तिर्दै आएको थियो ।