रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरुले सबै जातजाति, भाषाभाषी र समुदायको भाषा संस्कृति र पहिचानको संरक्षण गर्न सकेमात्र मुलुक समृद्ध हुने सरोकारवालाहरुले बताएका छन् ।
शुक्रबार विराटनगरमा रेडियो नेपालको समावेशी प्रसारणमा समुदायको सहभागिता विषयको अन्तक्रिर्या तथा समावेशी कार्यक्रमसम्बन्धी तालिम कार्यक्रमका सहभागिहरुले रेडियो नेपाललाई जनताले सूचनाको आधिकारिक स्रोतकारुपमा लिने गरेकोले यसबाट प्रसारण हुने कार्यक्रम समावेशी हुनु आवश्यक भएको बताए ।
तीन दिने प्रशिक्षण कार्यक्रममा कोशी प्रदेशका १४ जिल्लाका थारु पूर्र्वेली, राई वान्तवा र लिम्वु भाषामा कार्यक्रम, समाचार उत्पादन तथा प्रशारण र डिजिटल प्रविधिको प्रयोग सम्बन्धमा एक सय जनालाई तालिम प्रदान गरिने बताइएको छ ।
रेडियो प्रसार विकास समिति रेडियो नेपालले आयोजना गरेको सो तालिम कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव केशवराज सुवेदी, रेडियो नेपाल प्रसार विकास समितिका निर्देशक पुष्करराज गौतम लगायतले तालिमबाट समावेशी कार्यक्रम उत्पादनमा सहयोग पुग्ने बताए ।