विराटनगर २८ असार
विराटनगर महानगरपालिकाले विभिन्न अभियान संगसगै शैक्षिक सुधारको अभियान पनि साथै अगाडि बढाएको छ । अभियानअन्तर्गत महानगरपालिकाका मेयर नागेश कोइरालाले सामुदायिक विद्यालयहरुको अनुगमनलाई तीव्रता दिनुभएको छ ।
दुईदिन अघि महेन्द्र मा.वि र सरस्वती मा.विको आकस्मिक अनुगमन गर्नुभएका मेयर कोइरालाले बिहीबार बिहान विराटनगर–६ सरोचियास्थित शिक्षा सदन मा.विको अनुगमन गर्नुभयो । शिक्षा सदन बिहान पठनपाठन हुँदै आएको छ । वडाध्यक्ष हरिशचन्द्र सहनी (अध्यक्ष ), शैक्षिक महाशाखाका संयोजक कृष्ण भट्टराई, महाशाखाका कर्मचारी र सचिवालयको टिमसहित विद्यालय पुग्नुभएका मेयर कोइरालाले सुरुमा हरेक कक्षामा पुगेर विद्यार्थीहरुसित मात्र अन्तरक्रिया गर्नुभएको थियो ।
मेयर कोइरालासित विद्यार्थीहरुले कक्षा कोठामा बत्ती नभएको, छात्राका लागि छुट्टै शौचालय नभएको, सेनिटरी प्याड राख्ने डस्बिन नराखेको, शिक्षकहरुले होमवर्क दिए पनि चेक नगर्ने गरेको लगायतका गुनासो पोखेका थिए । शिक्षकहरुले राम्ररी नपढाएकै कारण र विद्यार्थीहरु नियमित कक्षामा नआउने गरेको उनीहरुको भनाइ थियो ।
विद्यार्थीसितको अन्तरक्रियापछि मेयर कोइरालाले शिक्षक/शिक्षिकाहरुसित छलफल गर्नुभएको थियो । महानगरको मुटुमा भएर पनि विद्यालयको शैशिक गुणस्तर खस्कनुमा प्रधानाध्यापक सहित सबै शिक्षक/शिक्षिकाहरुले जिम्मेवारी लिनुपर्ने उहाँले बताउनुभयो । उहाँले विद्यालय सुधार्नका लागि दुई महिनाको समय दिनुभएको छ । दुई महिनाभित्र पनि विद्यालयमा सुधार नआए महानगरले कडा कदम चाल्ने मेयर कोइरालाले चेतावनी दिनुभयो । मेयर कोइरालाले विद्यालयमा विद्यार्थी नियमित नआउदा शिक्षकहरुालई चिन्ताहुनु पर्ने भन्दै एकले अर्कालाई दोष थोपर्ने र पन्छिने काम नगर्न चेतावनी दिनु भएको छ । उहाँले राज्यले शिक्षा क्षेत्रमा बजेटको ठूलो हिस्सा लगानी गरे पनि प्रतिफल कमजोर भएको र अवका दिनमा सामुदायिक विद्यालयको सुधारका लागि महानगर जस्तोसुकै कदम चाल्न तयार रहेको स्पष्ट पार्नुभयो । महानगर क्षेत्रभित्र सञ्चालित सबै सामुदायिक विद्यालयमा पंखा जडान गर्ने उहाँले बताउनुभयो । मेयर कोइरालाले शिक्षकहरुसितको छलफल अघि ई–हाजिरीसमेत चेक गर्नुभएको थियो । मेयर कोशइरालाले विद्यालयलाई आवश्यक परेका सवै कुरा महानगरमा जानकारी गराउन समेत भन्नु भएको छ ।