वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी, पहिरोलगायत प्राकृतिक प्रकोपबाट क्षति पुग्ने गरेको छ । अविरल वर्षाबाट हुने जोखिम कम गर्न मोरङका सुरक्षा निकायको सहकार्यमा स्थानीय तह पूर्वतयारी जुटेका छन् । तीन दिन कोशी र मधेस प्रदेशको एक÷दुई स्थानमा मेघ गर्जन चट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले सडक तथा हवाई यातायात, कृषि तथा पर्यटनलगायत क्षेत्र प्रभावित हुने देखिएको जल तथा मौसम विज्ञान विभाग कार्यालयको बुलेटिनलाई उद्रित गर्दै मौसम विज्ञ रामबाबु मिश्रले बताउनुभयो । उहाँले ग्रेगान बहाव (खहरे खोलामा आउने) बाढीपहिरो, भूक्षयका कारण हुनसक्ने जोखिम बाँच्न र क्षति कम गर्न आवश्यक सतर्कता अपनाउन अनुरोध गर्नुभएको छ । सम्भावित हुनसक्ने क्षतिलाई रोक्न जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले केही दिन अगाडि नै पूर्वतयारी थालिसकेको जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले बताउनुभयो । “जिल्लाभित्रका सत्रवटै पालिका प्रमुख, सुरक्षा निकायका प्रमुख र सरोकारवाला निकायसँग विपद् व्यवस्थापनको विषयमा गम्भीर छलफल गरेका छौँ” उहाँले भन्नुभयो, “सबै निकाय पूर्वतयारीमा जुटिसकेका छन् ।” बाढीपहिरोबाट विस्थापित हुने परिवारका लागि अस्थायी वासस्थानको व्यवस्थाका लागि तयारी गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ । प्रजिअ यादवका अनुसार जिल्लामा ठूला साना गरी दर्जनौँ खोला छन् । जसमध्ये चिसाङ, बक्राहा, लोहन्द्रा, बूढीखोला, गछिया, सिङ्घीया र केसलिया हुन् । बेलबारी नगरपालिकाको दुईतर्फ सिमानामा लोहन्द्रा र चिसाङ खोला छन् । वर्षाको समयमा लोहन्द्रा र चिसाङ खोलाले स्थानीयलाई आतङ्कित बनाउने गरेको बेलबारी नगरपालिका प्रमुख दिलप्रसाद राईले बताउनुभयो । “खोला किनारमा ढुङ्गा जाली नगरेको ठाउँमा खोलाले बढी क्षति गर्ने गरेको छ”, उहाँले भन्नुभयो, “ढुङ्गा जाली नगरेको क्षति हुने ठाउँमा नगरपालिकाले बाँसबाट पक्युपाइन गरेको छ ।” उहाँका अनुसार बेलबारी नगरपालिका विपद् व्यवस्थापन पूर्व तयारीमा लागिसकेको छ ।

“सम्भावित विपद् आउनसक्ने ठाउँमा सम्पूर्ण सुरक्षाका साधन तयारी अवस्थामा राखिसकेका छौँ”, सुन्दरहरैचा नगरपालिकाका प्रमुख केदार गुरागाईँले भन्नुभयो । पालिकाको दुई सिमानामा पर्ने लोहन्द्रा र बूढी खोलामा बाढी आउन सक्ने भएकाले सर्तकताका लागि स्थानीयलाई उहाँले अनुरोध पनि गर्नुभयो । उहाँका अनुसार खोलाको जोखिमपूर्ण ठाउँमा गतवर्ष एक हजार दुुई सय ५० मिटरमा ढुङ्गा जाली गरिएको थियो । ---RSS