विराटनगर, १३ असार ।

  कोशी प्रदेशका मुख्यमंत्री हिक्मत कुमार कार्कीले प्रदेश संरचनालाई जनताको आवश्यकता अनुसार ढाल्न सकिए मात्र प्रदेश प्रतिको वितृष्णा र आक्रोशलाई मत्थर गर्न सकिने बताए ।

  विराटनगर स्थित मुख्यमन्त्री तथा मंत्रीपरिषद कार्यालयमा आयोजना गरिएको एक कार्यक्रममा उच्चस्तरीय प्रशासन सुधार कार्यदलको प्रतिवेदन बुझ्दै मुख्यमंत्री कार्कीले प्रदेशको आवश्यकता र औचित्य पुष्टि गर्न तथा यसलाई जनताको नजदिकको सरकार बनाउन उच्चस्तरीय प्रशासन सुधार कार्यदलको प्रतिवेदन सहायक बन्ने बताए । उनले जनताको चाहना र आवश्यकता पूर्ति गर्न नसकिएकाले सर्वसाधारणले प्रदेश प्रति नकारात्मक टिप्पणी गरिरहेको बताए । 

 कोशी प्रदेश सरकारले गत माघमा प्रदेशको संगठन संरचना, राजस्व वृद्धि र प्रदेशको कार्यक्षेत्र लगायतका विषयमा  सुझाव दिन पूर्व सचिव चन्द्र कुमार घिमिरेको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको थियो । उच्चस्तरीय प्रशासन सुधार कार्यदलका संयोजक पूर्व सचिव घिमिरेले मुख्यमंत्री कार्कीलाई प्रतिवेदन हस्तान्तरण गरेका थिए ।

 कार्यदलको प्रतिवेदनमा १२ वटा कार्य क्षेत्रमा प्रदेश सरकारले काम गर्न सक्ने, संगठन संरचना सुधारका लागि २० वटा सुझाव तथा राजस्व वृद्धिका लागि १४ वटा सुझाव उल्लेख छ ।