न्यायाधीशले पैसा खाएर स्टेअर्डर दिएको भन्ने विवादित अभिव्यक्ति दिएका भन्दै कोशीप्रदेश सरकारका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी विरुद्ध अदालतको अपहेलना मुद्दा दायर भएको छ ।

गतअसार १० गते एक कार्यक्रममा राजभण्डारीले दिएको अभिव्यक्तिले अदालतको अपहेलना भएको भन्दै अभिवक्ता उद्धबचन्द्र घिमिरेले मंगलबार उच्च अदालत विराटनगरमा अपहेलना मुद्दा दायर गरेका हुन ।

कोशीप्रदेश सरकारको गत जेठ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्लेलाई बर्खास्त गर्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध भोलीपल्ट नै वाग्लेले उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए । उच्च अदालतका न्यायाधीश कृष्णकमल अधिकारीको इजलासले प्रदेश सरकारको उक्त निर्णय कार्यान्वयन नगर्न जेठ ५ गते अन्तरिम आदेश दिएको थियो ।

पुनः उच्च अदालत विराटनगरका न्यायाधीश द्वयकृष्णकमल अधिकारी र राजनप्रसाद भट्टराईको इजलासले जेठ ५ को अन्तरिम आदेशलाई निरन्तरता दिएको थियो । सोही आदेशविरुद्ध मन्त्री राजभण्डारीले आक्रोश व्यक्त गरेका थिए ।

विराटनगरस्थित शिक्षादीप कलेजको एक कार्यक्रममा बोल्दै मन्त्री राजभण्डारीले उच्च अदालतले प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिवले पैसा दिएकै भरमा न्यायाधीशले आदेश गरेको गम्भीर आरोप लगाएका थिए । उनले न्यायाधीशलाई फटाहा र कलंकको संज्ञा समेत दिएका थिए ।

मन्त्री राजभण्डारीले दिएको अभिव्यक्ति नेपालको संविधानको धारा १३६ न्यायप्रशासन २०७३ को दफा १७ बमोजिम अदालतको अपहेलनाको बनेको जाहेरीमा उल्लेख छ । न्यायाधीशको नाम किटान गरि संविधान र कानूनको उल्लंघन गर्दै मन्त्रीले दिएको अभिव्यक्ति न्यायायलमाथि द्वेश र घृणा फैलाउने उद्देश्यले प्रेरित भएको दावी निवेदनमा गरिएको छ ।

निवेदनमा मन्त्री राजभण्डारीलाई अदालतको अपहेलनामा १ वर्ष कैद र १ लाख रुपैयाँ जरीवाना गर्न माग गरिएको छ । यसअघि उच्च अदालतबारले आफ्नो संवैधानिक अप्रमाणित र गैर जिम्मेवार अभिव्यक्ति दिँदै जनतामा न्यायालयप्रति भ्रम सृजना गरिने काम मन्त्रीले गरेको भन्दै आपत्ती जनाएको थियो ।