अपाङ्गता भएका व्यक्तिहरुलाई आफ्नो होटलहरुमा रोजगारीको अवसर सृजना गर्न इटहरीका होटल व्यवसायीले प्रतिवद्धता जनाएका छन् । आज इटहरीमा द लेप्रोसी मिसन नेपाल फण्ड परियोजना विराटनगरले आयोजना गरेको पर्यटन तथा होटल व्यवसायीहरुसँग सम्भावित रोजगार विषयक एक दिने अन्तरक्रिया कार्यक्रममा उनिहरुले योग्य व्यक्तिलाई रोजगार दिने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
कार्यक्रममा परियोजनाका व्यवस्थापक विपिन दासले अपाङगमैत्री समावेशी समाज निर्माण गर्न सरकारी तथा गैरसरकारी सबै पक्ष लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले फण्ड परियोजनसँग ६१३ जना अपाङ्गता भएका व्यक्तिहरु सुचिकृत रहेको जानकारी दिदै उनिहरुमध्ये ९२ प्रतिशत व्यक्ति साक्षर रहेको र विभिन्न पदका लागि योग्य रहेको बताउनुभयो । उहाँले दमक र इटहरीमा अपाङ्गता भएका व्यक्तिहरुले कपडा गार्मेन नै सञ्चालन गरेको उदाहरण दिदै उनिहरुलाई अवसरको खाँचो रहेको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जीवन पराजुलिले कोरोना पछिको समय आर्थिक मन्दीका कारण जटिल रहेको बताउनुभयो । अपाङ्गता भएका व्यक्तिहरुलाई होटलमा रोजगारी दिन आफूहरु सकारात्मक रहेको पनि उहाँले बताउनुभयो ।
हाल कोशी प्रदेशमा ९२ जना अपाङ्गता भएका व्यक्तिहरु औपचारिक श्रममा रहेको फण्ड परियोजनाले जनाएको छ । परियोजनाले अपाङ्गता भएका व्यक्तिहरुलाई विभिन्न क्षेत्रमा रोजगारीको वातावरण सृजना गर्ने, उनिहरुलाई विभिन्न सिप विकासका तालिम दिने गरेको छ ।