विराटनगर–१४ स्थित साविकको विराट साइन्स कलेज रहेको स्थानमा सञ्चालित निःशुल्क ट्यूसन सेन्टरका विद्यार्थीकालागि विराटनगर महानगरपालिकाले शैक्षिक सामग्री प्रदान गरेको छ । 

हाल मनमोहन प्राविधिक विश्वविद्यालयको सम्पर्क कार्यालय रहेको भवनमा शैक्षिक अभियन्ता धर्मप्रकाश मण्डलको अगुवाइमा स्थानीय विद्यार्थीहरुकालागि निःशुल्क ट्यूसन पढाउने व्यवस्था मिलाइएको छ । मण्डलले वडा नम्बर ८ र १४ का विद्यार्थीहरुलाई लक्षित गरेर सुरु गरेको ट्यूसन सेन्टरमा हाल ४ सय भन्दा बढी विद्यार्थीहरु अध्ययन गर्ने गरेका छन् । महानगरपालिकाकी उपमेर शिल्पा निरौला कार्कीले स्थानीय धर्मप्रकाश मण्डलको नेतृत्वमा स्थानीय विद्यार्थीलाई निःशुल्क ट्यूसन पढाइरहेको थाहा पाएपछि महानगरका तर्फबाट विभिन्न शैक्षिक सामग्रीप्रदान गरिएको जानकारी दिनुभयो । “धर्मप्रकाश मण्डलले स्थानीय बालबालिकाहरुकालागि निःशुल्क ट्यूसन पढाइरहेको हामीले थाहा पायौं, उहाँहरुलाई हौसला प्रदान गर्न महानगरका तर्फबाट केही शैक्षिक सामग्री प्रदान गरेका छौं,” उपमेयर कार्कीले भन्नुभयो, “उहाँहरुको यो अभियानमा महानगरले आगामी दिनमा पनि सहयोग गर्नेछ ।” 

महानगरकातर्फबाट शैक्षिक सामग्रीसँगै विपन्न विद्यार्थीका लागि चप्पलकासाथै डस्बिनसमेत प्रदान गरिएको थियो । ७ जना विद्यार्थीबाट सुरु गरेको ट्यूसन सेन्टरमा हाल ४ सयभन्दा बढी विद्यार्थी अध्ययन गर्ने गरेको अभियन्ता मण्डलले बताउनुभयो । कक्षा १ देखि १० सम्म अध्ययन गर्ने विद्यार्थीलाई ११ जना शिक्षकले निःशुल्क ट्यूसन पढाइरहेको बताउनुभयो । गतवैशाख १७ गतेदेखि सञ्चालित सेन्टरमा दिन प्रतिदिन विद्यार्थीको संख्यासमेत बढ्दै गएको उहाँले बताउनुभयो । निःशुल्क ट्यूसन पढ्न पढ्न पाएपछि विद्यार्थीसमेत खुसी देखिएका छन् । महानगरका १९ वटै वडामा निःशुल्क ट्यूसन सेन्टर सञ्चालनमा ल्याउने योजना रहेको अभियन्ता मण्डलले जानकारी दिनुभयो ।