मदन खतिवडा  विराटनगर, १९ जेठ । 

  २०७९ चैत्र महिनामा विराटनगरमा आयोजना गरिएको विराट गोल्ड कप फुटबल प्रतियोगिताबाट करिब ८७ लाख रुपैया घाटा लागेको आयोजकले बताएको छ ।  

  विराट गोल्ड कप पुर्वको शान भन्ने नारा सहित आयोजना गरिएको रात्रीकालिन फुटबल प्रतियोगितामा १ करोड ३३ हजार आम्दानी भएकोमा १ करोड ८७ लाख ३४ हजार रुपैया खर्च भएको आयोजक विराट गोल्ड कप ट्रष्टले जनाएको छ । 

गत चैत्र ९ गते देखि १६ गते सम्म आयोजना गरिएको सो प्रतियोगितामा घाटा लागेको करिब ८७ लाख रुपैया सहसंयोजक शुभाशिष कोइरालाले व्यहोर्ने निर्णय भएको शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिइएको थियो । नेपालको ६ तथा भारत र भुटानको एक एक गरी ८ वटा टिमले भाग लिएको सो फुटबल प्रतियोगिता आयोजक विराटनगर सिटी फुटबल क्लबले जित हात पारेको थियो भने भारत केरलाको लुका सकर क्लब उपविजेता बनेको थियो । सो फुटबल प्रतियोगितामा करिब ३५ लाख रुपैया पुरस्कारमा वितरण गरिएको थियो । 

  सो फुटबल प्रतियोगिता आयोजनाका लागि प्रदेश सरकारले १२ लाख, विराटनगर महानगरपालिकाले १२ लाख र राष्ट्रिय खेलकुद परिषदले १२ लाख रुपैया सहयोग गरेको थियो । यसैगरी मुख्य प्रायोजक, प्रायोजक, सहप्रायोजक, व्यानर प्रायोजकहरुबाट २२ लाख ७५ हजार र टिकट विक्रीबाट ४१ लाख ५८ हजार रुपैया आम्दानी गरेको आय व्यय विवरण र्सावजनिक गर्दै विराट गोल्ड कप ट्रष्टले जनाएको छ ।