विराटनगर १५ जेठ
नेपाल प्रेस युनियनको ३२ औं स्थापना दिवसको अवसर तथा १६ औं गणतन्त्र दिवसको सन्दर्भमा आयोजित सञ्चारकर्मीहरुबीचको खुल्ला दौड प्रतियोगितामा पत्रकार हरि अधिकारी प्रथम हुनु भएको छ ।
विराटनगरस्थित जनआन्दोलनचोकदेखि बरगाछीचोकसम्मको दूरी पार गर्दै अनलाइन खबरमा कार्यरत अधिकारी प्रथम हुनु भएको हो । प्रथम हुने अधिकारीले नगद ७ हजार र प्रमाणपत्र प्राप्त गर्नुभयो । त्यसैगरी पत्रकार नवराज कट्टेल द्वितीय हुँदै नगद ४ हजार ५ सय रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्नुभयो । पत्रकार देवराज तामाङ तृतीय हुँदा नविन भट्टराई र पवनकुमार साहले सान्त्वना स्थान सुरक्षित गर्नुभयो । तृतीय हुने तामाङले ३ हजार ५ सय पाउँदा सान्त्वना हुने दुवैजनाले जनही ३ हजार पाउनुभयो ।
विजेताहरुलाई विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराले नगद पुरस्कार र प्रमाणपत्र प्रदान गर्दै मेयर कोइरालाले पत्रकारहरुबीचको दौड प्रतियोगिताले स्वयम पत्रकारहरुमा स्वास्थ्यप्रति सचेत र जिम्मेवार हुन सन्देश दिने बताउनुभयो । उहाँले जनतालाई सुसूचित बनाउन सधैं तत्पर रहने पत्रकारहरु आफ्नो स्वास्थ्यप्रति सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
आयोजक संस्थाका अध्यक्ष मीनकुमार नवोदितले सञ्चारकर्मीहरुबीच एकता कायम गर्दै स्वास्थ्यका लागि खेलकुद, सक्रिय पत्रकारिताका लागि स्वस्थ शरीर भन्ने नाराका साथ दौड प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । उहाले सबै पत्रकार स्वस्थ हुन शारीरिक व्यायाम साथै आफ्नो स्वास्थ्यप्रति जिम्मेवार जरुरी रहेको बताए । आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु गरिरहनु पर्ने सहभागिहरुले बताएका छन् ।