विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशमा मानवअधिकारको अवस्था सन्तुष्ट हुने खालको नभएको बताएका छन् ।
राष्ट्रिय मानवअधिकार आयोगको २३ औं वार्षिकोत्सवको उपलक्ष्यमा विराटनगरमा आयोजना गरिएको कार्यक्रम उद्घाटन गर्दै प्रदेश प्रमुख खापुङले मानवअधिकार उल्लंघनको स्थिति बढ्दै गएकाले मानवअधिकार आयोगको क्षेत्र र भूमिका बढाउनुपर्ने बताए ।
उनले मानवअधिकार उल्लंघन हुने मुलुकमा शान्ति नहुने र समाजमा द्वन्द्व पनि बढ्ने भएकाले यसतर्फ सम्बन्धित निकाय सचेत हुनुपर्ने धारणा राखे ।
राष्ट्रिय मानवअधिकार आयोगको कोशी प्रदेश कार्यालयले आयोजना गरेको सो कार्यक्रमका सहभागिहरुले गणतन्त्रमा मानवअधिकारको अवस्था सुदृढ हुदै जानुपर्ने भएपनि हिरासत र जेलको अवस्था कहालीलाग्दो पाइएको धारणा व्यक्त गरेका थिए ।
सो कार्यक्रममा विभिन्न कार्यालयका कार्यालय प्रमुखहरु, मानवअधिकारवादी, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, कानुन व्यवसायी र संचारकर्मीहरुको सहभागिता रहेको थियो ।