विराटनगर, ५ जेठ ।
शुक्रवार मधेसी समुदायका महिलाहरुले पति तथा परिवारको दिर्घायुर्को कामना गर्दै बटसावित्रीको पूजाआजा गरेर मनाएका छन् ।
खासगरी तराइवासी नवविवाहित महिलाहरुले अनिवार्य रुपमा मनाउने यो व्रत विवाहित महिलाहरुले समेत पूजाआजा गरी मनाउने चलन रहेको छ ।
विराटनगर लगायत मोरङका प्रमुख शहरहरुमा वरको रुखमा पूजाका लागि बिहान देखि महिलाहरुको भिड लागेको थियो । यो व्रत लिएका महिलाहरुले बिहानै देखि निराहार बसी वरको फेदमा पूजाआजा गर्नूका साथै विभिन्न लोकगितहरु गाउने गर्दछन् । बटसावित्रीको कथावाचन गरिसकेपछि पंखाले हम्किने गरिन्छ र ब्रत सकिने चलन रहेको छ ।
सतीसावित्रीको कथामा आधारित यो व्रत पछिल्लो समय तर्राईका अन्य समुदायले पनि मनाउने प्रचलन बढ्दै गएको छ । यो व्रतमा व्रतालु महिलाहरुले मनोकामना पुराहोस भनेर वरको रुखमा धागो बेर्ने चलन रहेको छ।