झापा, ३१ वैशाख (रासस) :

भारतबाट दिनहुँ आउने जङ्गली हात्तीको हुल रोक्न झापामा गस्ती गर्न थालिएको छ । हुलमा आउने जङ्गली हात्ती रोक्न मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा संयुक्त गस्ती गर्ने गरिएको छ । डिभिजन वन कार्यालयका कार्मचारी, सशस्त्र प्रहरी र स्थानीयवासीले हात्तीलाई गाउँ पस्न नदिन संयुक्त गस्ती सुरु गरेका वडा नं ४ का अध्यक्ष अर्जुन कार्कीले जानकारी दिनुभयो । उहाँले दैनिक भारततर्फबाट बाहुनडाँगीको विभिन्न गौँडा प्रयोग गरेर नेपाल प्रवेश गर्ने हात्तीले पाकेको मकै, सुपारी र बाँस क्षति पु¥याउन थालेका छन् । बाहुनडाँगीमा विद्युतीय घेरबार समेत तोडेर हात्ती गाउँ पस्ने गरेका छन् । “घेरबार मर्मत गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “तर हात्तीले भत्काएर बस्ती पस्ने गरेका छन् । रोक्नका लागि गस्ती गरिरहेका छौंँ ।” विद्युतीय घेरबार भएको सबै क्षेत्रमा बाटो नहुँदा गस्ती गर्न समस्या भएको कार्कीले बताउनुभयो । प्रकृति संरक्षण कोषले बाहुनडाँगीमा हात्ती द्वन्द्व व्यवस्थापन गर्ने उद्देश्यले २०७२ सालमा तिरिङदेखि नकलबन्दासम्मको १८ किलोमिटर क्षेत्रमा विद्युतीय तारवार निर्माण गरेको छ । हाल सोही तारबार मेचीनगर नगरपालिकाको रु १८ लाख र डिभिजन वन कार्यालयको रु पाँच लाखको लागतमा मर्मत भइरहेको छ । डिभिजन वन कार्यालयका प्रमुख मेघराज राईले दैनिक साँझपरेपछि साइरनसहितको गाडी बाहुनडाँगी क्षेत्रमा हात्ती धपाउन पठाउने गरेको बताउनुभयो । “जिल्लाका अन्य क्षेत्रमा भन्दा बाहुनडाँगीमा हात्तीले दुःख दिने गरेका छन्”, उहाँले भन्नुभयो, “स्थानीयवासी र प्रहरीसँगको साझेदारीमा गस्ती गरिरहेका छौँं ।” गस्ती टोलीले भारतबाट आउने हात्तीलाई उतै फर्काउने गरेको राईले बताउनुभयो । –––RSS