विराटनगर, २८ बैशाख ।कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नामाकरणको विषयमा भईरहेको आन्दोलन शान्तिपूर्ण बनाउन आग्रह गरेका छन् ।
विराटनगरमा आयोजना गरिएको सामुदायिक वन उपभोक्ता महासंघ नेपाल कोशी प्रदेशको दोश्रो अधिवेशनको उद्घाटन गर्दै मुख्यमंत्री हिक्मत कुमार कार्कीले कोशी नामकरण ठीक नभए आगामी निर्वाचनमा दुई तिहाई वहुमतद्वारा नाम परिवर्तन गर्न सकिने बताए ।
सो अधिवेशनलाई सम्बोधन गर्दै उनले विविधता बीचको एकता नै नेपालको मौलिकता भएकाले साझा नामका विषयमा विवाद गर्नुको औचित्य नभएको बताएका छन् ।
मुख्यमंत्री कार्कीले विदेशी काठ प्रयोगलाई न्यूनिकरण गरी सडेर गैरहेको स्वदेशी काठको अध्यधिक प्रयोग गर्न आवश्यक नीति र कानून निर्माण गर्न सकिने बताउदै सामुदायिक वन क्षेत्रको विस्तारबाट मुलुकमा रोजगारी सिर्जना, राजश्व वृद्धि, उत्पादकत्व वृद्धि, वन पैदावारको विकास लगायतका कार्य गरेर अत्यधिक फाइदा लिन सक्नुपर्ने बताए ।
१४ जिल्लाका आठ सय प्रतिनिधिहरुले भाग लिएको सो अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बताइएको छ ।