राजविराज ३ असार । नियमित खोप लगाएको केही घण्टामै सप्तरीमा एक नवजात शिशुको मृत्यु भएपछि त्यसबारे अनुसन्धान सुरु भएको छ । खोप लगाइसकेपछि शिशुलाई आमाले घर लगेर नियमित खाँदै आएको 'ल्याक्टोजन' दूध खुवाएर झुलामा सुताएको र त्यसको केही समय हेर्दा बच्चा मृत फेला परेको थियो ।
सप्तरीको राजगढ गाउँपालिका ३ का सुरेन्द्र रामकी १ महिना २१ दिनकी नवजात छोरी अमृताकुमारी रामको मृत्युको यकिन कारण पत्ता लगाउन हाल जिल्लाका स्वास्थ्यसँग सम्बन्धित निकायहरु अनुसन्धानमा जुटेका छन् । जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवका अनुसार मृत शिशुको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोस्टमार्टम गर्न पठाइएको छ ।