मोरङको लेटाङ नगरपालिकामा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा लेटाङ नगरपालिका–६ निवासी २१ वर्षीय विकास भन्ने भुवानीप्रसाद लम्साल रहेका छन्।

प्रहरीका अनुसार गत कात्तिक २८ गते साँझ लेटाङ नगरपालिका क्षेत्रमा आयोजित एक कार्यक्रम हेरेर घर फर्किने क्रममा बालिकामाथि जबरजस्ती करणी भएको आरोप छ। घटनासम्बन्धी जाहेरी मंसिर ३ गते इलाका प्रहरी कार्यालय लेटाङमा प्राप्त भएको थियो।

जाहेरी प्राप्त भएपछि प्रहरीले घटनाको सूक्ष्म अनुसन्धान र खोजी सुरु गरेको थियो। अनुसन्धानका क्रममा घटनामा संलग्न रहेको आरोपमा लम्सालको पहिचान भएपछि प्रहरीले मंसिर ५ गते उनलाई आफ्नै घरबाट पक्राउ गरेको हो।

पक्राउ परेका लम्साललाई जबरजस्ती करणीसम्बन्धी कसुरमा मोरङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई इलाका प्रहरी कार्यालय लेटाङले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।