स्वरूप परिवर्तन गरेर चर्को आवाज निकाल्ने ४०५ मोटरसाइकल ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।
सार्वजनिक शान्ति भङ्ग गरेर रातको समयमा जथाभावी सडकमा उत्तेजक ढंगले चलाएको भन्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोटरसाइकल नियन्त्रणमा लिएको हो।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा (३९) मा सवारी धनीले अधिकार प्राप्त अधिकारीको स्वीकृति नलिई सवारीको रङ्ग, सीट सङ्ख्या, स्वरूप, इन्जिन वा चेसिसमा परिवर्तन हुने गरी हेरफेर गर्न नपाइने व्यवस्था गरेको छ।
ट्राफिक प्रहरीले उक्त व्यवस्थालाई टेकेर मोटरसाइकलहरू नियन्त्रणमा लिएको जानकारी ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले दिए।
उनका अनुसार ध्वनि तथा वातावरण प्रदूषण नियन्त्रणका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अन्य सरोकारवाला निकायहरूसँग समन्वय गरी हर्न निषेध एरिया तोक्ने तथा सवारी साधनको नियमित यान्त्रिक परीक्षण तथा प्रदूषण जाँच गरी अनुगमन, निगरानी तथा कारबाही गर्दै आइरहेको छ।












