जापानमा मस्तिष्कघात भएर विगत ६ महिनादेखि उपचार गराइरहेकी २२ वर्षीया नेपाली युवती विष्णु कुँवर स्वदेश फर्किएकी छन्। सोमबार नेपाल आइपुगेकी उनको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) मा निःशुल्क उपचार सुरु गरिएको छ।
रोजगारी र उज्ज्वल भविष्यको खोजीमा जापान पुगेकी विष्णु अचानक मस्तिष्कघात भएपछि स्वास्थ्य अवस्था जटिल बनेको थियो। आर्थिक समस्याका कारण त्यहाँ उपचारलाई निरन्तरता दिन र नेपाल फर्किनसमेत कठिनाइ भएपछि नेपाली कांग्रेसका नेता तथा गिरिजाप्रसाद कोइराला फाउन्डेसनका सभापति डा. सुनिलकुमार शर्माको पहलमा उनलाई स्वदेश ल्याइएको हो।
नेपाल एयरलाइन्सको विमानमार्फत सोमबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी विष्णुलाई लिन डा. शर्मा केएमसीका विशेषज्ञ चिकित्सकको टोली र एम्बुलेन्ससहित आफैँ विमानस्थल पुगेका थिए। विमानस्थलबाट उनलाई सिधै काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल पुर्याएर भर्ना गरिएको छ। अस्पतालले उनको स्वास्थ्य अवस्थाको विस्तृत परीक्षण गरी उपचार प्रक्रिया अघि बढाइसकेको जनाएको छ।
नेपाल आइपुगेपछि विष्णुले डा. शर्मालाई आफू कहाँ रहेको भन्दै प्रश्न गरेकी थिइन्। जवाफमा डा. शर्माले आफ्नै देशको काठमाडौँ मेडिकल कलेज आइपुगेको जानकारी गराएपछि उनी निकै भावुक बनेकी थिइन्।
अस्पतालबाट डिस्चार्ज नहुँदासम्म विष्णुको उपचारमा लाग्ने सम्पूर्ण खर्च आफूले नै बेहोर्ने डा. शर्माले बताएका छन्। चिकित्सा विज्ञानले सम्भव भएसम्मका सबै उपचार सेवा केएमसीमा निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै उनले भनेका छन्, ‘आर्थिक अभावकै कारण कुनै पनि बिरामी उपचारबाट वञ्चित हुनु हुँदैन।’
डा. शर्मा काठमाडौँ मेडिकल कलेज र नोबेल मेडिकल कलेजमार्फत स्वास्थ्य सेवामा सक्रिय रहँदै आएका छन्। उनले आर्थिक अवस्था कमजोर भएका तथा उपचार खर्च जुटाउन नसक्ने बिरामीलाई निःशुल्क उपचार उपलब्ध गराउनुका साथै विपन्न, दलित तथा अल्पसङ्ख्यक समुदायका व्यक्तिलाई निःशुल्क स्वास्थ्य शिक्षा प्रदान गर्ने कार्यसमेत गर्दै आएका छन्। जापानमा ६ महिना कठिन समय बिताएर स्वदेश फर्किएकी विष्णुले अहिले परिवारको साथमा अस्पतालमै थप उपचार गराइरहेकी छन्।












