नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनका लागि तयार रहन नेता–कार्यकर्तालाई निर्देशन दिएका छन्। मंगलबार अखिल नेपाल किसान महासङ्घ केन्द्रीय कमिटीको विस्तारित बैठकमा उनले जुनसुकै बेला आन्दोलनमा जानुपर्ने अवस्था आउने बताए।
“आन्दोलनको मानसिकताका साथ साथीहरू सबै हरदम तयार रहनू। आन्दोलन सधैँ लामो तयारी गरेर हुन्छ भन्न सकिँदैन। असह्य भएपछि आन्दोलन तत्काल निस्किन्छ,” उनले भने।
उनले कहीँ विद्रोह, कतै चुनाव त कहीँ उपद्रवबाट उलटफेर हुने बताए। “कुनै पनि समय आन्दोलनमा जानुपर्ने हुनसक्छ। त्यसकारण साथीहरू तयार रहनुहोला,” उनले भने। 
उनले आफूहरू सधैँ अप्ठ्यारोसँगै जुध्दै आएको बताए। सबै शक्ति मिलेर सिद्ध्याउन खोज्दा पनि जहाँको त्यही रहेको बताए। “हामीलाई कसैले बहिष्कार गर्छ कि गर्दैन। मतलब पनि छैन। नेपालको सबैभन्दा मजबुत देशभक्त, सबैभन्दा व्यापक सुदृढ शक्ति एमाले हो,” ओलीले भने।