विराटनगरमा निश्चित मापदण्ड पूरा गरेका व्यवसायले अब राति २ बजेसम्म सेवा दिन पाउने भएका छन्। जिल्ला प्रशासन कार्यालय मोरङले रात्रिकालीन व्यवसाय सञ्चालनसम्बन्धी नयाँ मापदण्ड जारी गर्दै इच्छुक व्यवसायीबाट अनुमति प्रक्रियाका लागि निवेदन लिन थालेको हो।

नयाँ व्यवस्थाअनुसार व्यवसायको प्रकृति हेरेर राति १२ बजेदेखि २ बजेसम्म सञ्चालन अनुमति दिइनेछ। पान, मिठाई, चिया, आइसक्रिम, किराना, रेस्टुरेन्ट, खाना–खाजा, दोहोरी तथा गजल व्यवसायले राति १२ बजेसम्म सेवा दिन पाउनेछन्। पब, डिस्को, डान्स क्लब, लाउन्ज बार र लाइभ म्युजिक सञ्चालन हुने स्थानले भने राति २ बजेसम्म व्यवसाय सञ्चालन गर्न सक्नेछन्।

प्रशासनले अनुमति लिन चाहने व्यवसायीबाट मंगलबारदेखि निवेदन लिन थालेको छ। तर, निवेदन दर्ता गर्दैमा राति अबेरसम्म व्यवसाय सञ्चालन गर्न पाइने छैन। सम्बन्धित वडा कार्यालयको सिफारिससहित निवेदन दिएपछि अनुगमन समितिले व्यवसायस्थलको निरीक्षण गर्नेछ। तोकिएका पूर्वाधार र सुरक्षा मापदण्ड पूरा भएको पाइएपछि मात्रै अनुमति दिइनेछ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाका अनुसार रात्रिकालीन गतिविधिलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन ‘रात्रिकालीन होटल तथा व्यवसाय सञ्चालनसम्बन्धी मापदण्ड, २०८३’ जारी गरिएको हो। राति १० बजेसम्म व्यवसाय सञ्चालन गर्नेले भने अतिरिक्त अनुमति लिनुपर्ने छैन।

नयाँ व्यवस्थाले विराटनगरको रात्रिकालीन आर्थिक गतिविधि विस्तार गर्ने बाटो खोलेसँगै व्यवसायीका लागि सुरक्षा, श्रमिक अधिकार र ग्राहकप्रतिको जिम्मेवारीसम्बन्धी सर्त पनि तोकेको छ।