नेकपा (एमाले) ले आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय भेलाको तयारीलाई अन्तिम रूप दिन आज स्थायी कमिटी बैठक बोलाएको छ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बस्ने बैठकमा भेलाको व्यवस्थापन, प्रतिनिधिको सहभागिता र आवश्यक तयारीका विषयमा छलफल हुने पार्टी सचिव महेश बस्नेतले जानकारी दिएका छन्।
एमालेका अनुसार राष्ट्रिय भेलामा देशभरबाट ३ हजार ५१४ जना प्रतिनिधि सहभागी हुनेछन्। भेलामा पार्टीको केन्द्रीय नेतृत्वदेखि पालिका तहसम्मका कमिटी पदाधिकारी तथा पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूको सहभागिता रहनेछ।
एमालेले राष्ट्रिय भेलालाई आगामी स्थानीय तह निर्वाचनको तयारी र सङ्गठन सुदृढीकरणको महत्त्वपूर्ण अवसरका रूपमा लिएको छ।












