गृहमन्त्री सुदन गुरुङ र काठमाडौँस्थित अमेरिकी दूतावासकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच आज भेटवार्ता भएको छ।

गृह मन्त्रालयमा भएको भेटमा विपत् व्यवस्थापन, उद्धार तथा राहत सामग्री वितरण र गत साउनमा गएको विनाशकारी बाढीका कारण बेपत्ता भएका अमेरिकी तथा नेपाली नागरिकहरूको पहिचान र खोजी कार्यमा भइरहेको संयुक्त प्रयासबारे गहन छलफल भएको छ।

भेटका क्रममा कार्यवाहक राजदूत बोल्डिनले अमेरिकाले नेपालको बाढी राहत तथा पुनःस्थापनाका लागि ३ करोड ६० लाख अमेरिकी डलरभन्दा बढी (करिब ४ अर्ब ८० करोड नेपाली रूपैयाँ) सहयोग उपलब्ध गराइरहेको जानकारी दिइन्।

यसका साथै नेपाली उद्धारकर्ता र प्रथम प्रतिक्रियाकर्ताहरूलाई सहयोग पुर्‍याउन अमेरिकी उपकरण, प्रविधि तथा प्राविधिक विशेषज्ञता समेत परिचालन गरिएको छ। अमेरिकी सहयोगले बाढीबाट प्रभावित समुदायको पुनःस्थापना र राहत कार्यमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।