इनरुवाबाट दुई हजार ५६६ किलो गाँजासहित दुई जना पक्राउ परेका छन्।
सुनसरी सदरमुकाम इनरुवा नगरपालिका–३ सखुवागाछी चोकमा गएराति पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख १८२५ नम्बरको ट्रक रोकी जाँच गर्ने क्रममा ८३ वटा बोरामा ‘प्याक’ गरिएको उक्त परिमाणको गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख पुष्पराज मल्लले जानकारी दिए।
बन्दागोबी बोकेको ट्रकमा लुकाएर लैजाँदै गरेको अवस्थामा सहिदभूमि गाउँपालिका–२ का ३३ वर्षीय चालक राजु राई र १८ वर्षीय सहचालक सन्दीप राईलाई पक्राउ गरिएको हो।
पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।












