जिल्ला प्रहरी परिसर काठमाडौंले दसैँ र तिहारको सुरक्षा योजना सार्वजनिक गरेको छ। शुक्रबार सार्वजनिक सुरक्षा योजनाअनुसार काठमाडौं जिल्लामा ३ हजार ५०६ जना सुरक्षाकर्मी परिचालन गरिनेछ।
भद्रकालीस्थित परिसरको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक दानबहादुर थापाले सादा पोशाक र बर्दीमा सुरक्षाकर्मी परिचालन गर्ने गरी योजना लागू गरिएको बताए।
उनले भने, ‘चाडपर्व अवधिभर ३५ सय ६ जना सुरक्षाकर्मी परिचालन गर्ने गरी सुरक्षा योजना बनाएका छौँ।’ जोखिम बढेमा प्रहरीको संख्या थप गरिने उनले बताए।
दसैँ र तिहारमा चोरी, ठगी, लुटपाट र सार्वजनिक स्थानमा दुर्व्यवहार हुन सक्ने सुरक्षा चुनौती आकलन गरिएको उनले बताए। उनले भने, ‘चोकमा झोला तानेर दुर्व्यवहार हुन सक्छ, त्यसलाई पनि हामीले चुनौतीको रूपमा लिएका छौँ।’
चाडपर्वको सुरक्षाका लागि २२ प्रकारका ड्युटीमा प्रहरी परिचालित हुनेछन्। नाकामा कुकुर परिचालन गरेर चेकजाँच र सीसीटीभीबाट सुरक्षा निगरानी गरिने उनले बताए।












